लहान, १७ सिरहा । सिरहाको लहान नगरपालिका–१६ मा एकै परिवारमा भएको हृदयविदारक घटनाले स्थानीय समुदाय स्तब्ध बनेको छ ।
स्थानीय घरभित्र आमा र छोरा मृत अवस्थामा फेला परेका छन् भने अर्को छोरा गम्भीर अवस्थामा उपचाररत छन् । मृत फेला परेकामा करिब ३२ वर्षीया आमा र उनका ५ वर्षीय छोरा रहेका छन् ।
अर्का ७ वर्षीय छोरा गम्भीर अवस्थामा लहानस्थित रामकृष्ण हॉस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विष सेवन गराइएको आशंका
प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीको आशंका अनुसार आमाले आफ्ना दुई छोरालाई विष खुवाएर आफैँले पनि विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेकी हुन् ।
घटनास्थलमा भेटिएको संदिग्ध बस्तु परीक्षणको लागि संकलन गरिएको छ । घटनास्थलमा पुग्दा घर सुनसान अवस्थामा रहेको र भान्साकोठामा विषालु पदार्थ मिसाइएको खानेकुरा फेला परेको प्रहरीले जनाएको छ । तर, मृतकको मनस्थितिका बारेमा यकिन जानकारी अझै खुल्न बाँकी छ ।
श्रीमान् केही दिनदेखि सम्पर्कविहीन
स्थानीयवासी तथा प्रहरीका अनुसार मृतक महिलाका श्रीमान् विगत केही दिनदेखि सम्पर्कमा छैनन् । उनी विदेश गएका हुन् वा अन्यत्र गएको भन्ने यकिन नभएको बताइएको छ ।
श्रीमान् सम्पर्कमा नआएको कुराले पनि घटनालाई रहस्यमय बनाएको छ ।
छिमेकी र स्थानीयको भनाइ
छिमेकीहरूको भनाइ अनुसार सो परिवारमा केही समयदेखि घरेलु तनाव चलिरहेको चर्चा थियो । महिलाले यति ठूलो कदम चाल्ने अनुमान कसैले पनि गरेको थिएन ।
एक स्थानीय महिला भन्छिन्, “ती महिला आफ्नो सन्तानलाई निकै माया गर्थिन्, यस्तो घटना सुन्दा अझै विश्वास लागिरहेको छैन ।
प्रहरीको अनुसन्धान जारी
जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाको गम्भीरता हेरेर थप अनुसन्धान थालेको छ । घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी शवहरूलाई पोस्टमार्टमका लागि लहान अस्पताल पठाइएको छ ।














