विराटनगर, १६ भदौ । सङ्घीय लोकतान्त्रिक मोर्चाले ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ सुरु गरेको छ ।
मोर्चाको पूर्वघोषित कार्यक्रमअनुसार जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा सोमबारदेखि विराटनगरमा अभियानको सुरुवात गरिएको हो ।
अभियानको पहिलो दिन मोर्चाका शीर्ष नेताहरूले विभिन्न कोणबाट राजनीतिक मुद्दाहरू उठाउँदै जनसम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका उत्पीडित समुदायहरूले आफ्नो जातीय तथा राष्ट्रिय पहिचान खोजिरहेको बताए ।
उनले प्रतिनिधित्व, स्वायत्तता र सुशासन प्राप्त गर्नु सबै समुदायको साझा लक्ष्य भएको उल्लेख गरे । यादवले हालै सरकारले ल्याउन लागेको भूमि ऐनबारे पनि आलोचना गर्दै भने, “यो ऐन देशलाई वनजंगलमुक्त बनाउने होइन, सत्ताको आडमा धन कमाउने नयाँ योजना मात्र हो ।
त्यसैगरी, मोर्चाका नेता तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले विगतमा मधेसी, थारु, आदिवासी जनजाति, दलित र पछाडि पारिएका वर्गहरूले छुट्टाछुट्टै सङ्घर्ष गरेकाले आन्दोलन सफल हुन नसकेको बताएका छन् । अब सबै उत्पीडित समुदायहरूको साझा एकता र संयुक्त सङ्घर्ष आवश्यक रहेको उनले जोड दिए ।
कार्यक्रममा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमाथि आन्दोलनमा सहभागी भएका व्यक्तिमाथि झुटा मुद्दा लगाएर जेल हाल्ने आरोप लगाए ।
उनले जनआन्दोलनमार्फत राजतन्त्र हटाई गणतन्त्र स्थापना गर्नु देशको ठूलो उपलब्धि भएको बताए । साथै, उखु किसानहरूको मुद्दा सरकारले बेवास्ता गरेकोप्रति पनि उनले असन्तोष व्यक्त गरे ।














