जनकपुर, १६ भदौ । जनकपुर उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठामा हिन्दू र मुस्लिम समुदायबीच भड्किएको तनावलाई सामूहिक प्रयासमार्फत समाधान गरिएको छ ।
पछिल्ला दुई दिनदेखि बढ्दो तनावलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको थियो भने आइतबार भएको झडपमा गोली लागेर एक जना घाइतेसमेत भएका थिए ।
शनिबार गणेश पूजाको मूर्ति विसर्जनपछि हिन्दू समुदायका केही व्यक्तिले मुस्लिम समुदायद्वारा झण्डाचोकस्थित टावरलाइट पोलमा बाँधिएको हरियो झण्डा हटाउन खोज्दा विवाद चर्किएको थियो ।.
त्यसक्रममा दुई पक्षबीच झडप भई प्रहरीलाई हस्तक्षेप गर्नुपरेको थियो । शनिबारको तनाव अझ चर्किएर आइतबार पुनः झण्डा हटाउने क्रममा विवाद उत्कर्षमा पुगेको थियो ।
तनाव नियन्त्रण गर्न प्रहरीले आइतबार ३० राउन्ड गोली र ३१ सेल अश्रुग्यास प्रहार गर्नुपरेको धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।
झडपका क्रममा स्थानीय २९ वर्षीय लक्ष्मण मुखिया दुवै खुट्टामा गोली लागेर गम्भीर घाइते भएका छन् । यस्तै, ढुंगामुढाका कारण सात जना सुरक्षाकर्मीसमेत घाइते भएका थिए ।
विवाद चर्कँदै गएपछि राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन, र दुवै धार्मिक समुदायका अगुवाहरूको उपस्थितिमा सर्वपक्षीय बैठक आयोजना गरी विवाद समाधान गर्न सहमति गरिएको छ ।
सहमतिको प्रमुख बुँदाहरू यसप्रकार छन ।
१. दुवै पक्षले धार्मिक र सामाजिक सद्भाव कायम राख्न प्रतिबद्धता जनाएका छन् ।
२. १४ र १५ भदौमा भएका घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाइनेछ ।
३. धार्मिक वा सामाजिक सद्भावमा खलल पु¥याउने कुनै पनि गतिविधि नगर्ने र त्यस्ता प्रयासहरूमा संलग्न व्यक्तिमाथि सूक्ष्म निगरानी राखी आवश्यक कानुनी प्रक्रिया थालिनेछ ।
४. विगतमा उत्पन्न भएको तेलिया पोखरी सम्बन्धी विवादसमेत समाधान गर्न साझा प्रयास गरिने सहमति गरिएको छ ।














