रौतहट, १५ भदौं । रौतहट जिल्लाको कटहरिया नगरपालिका–४ बहादुरपुरमा मोबाइल चोरीको आरोपमा कुटपिट गरिएका एक दलित युवकको मृत्यु भएको छ ।
३० वर्षीय नसिब बैठा नाम गरेका ती युवक साउन १७ गते छिमेकीहरूको कुटपिटबाट गम्भीर घाइते भएका थिए । वीरगन्जस्थित स्पोट्र्स हस्पिटलमा उपचार गराइरहेका बेला भदौ ११ गते उनको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार, मोबाइल चोरीको आशंकामा नसिबलाई उनका छिमेकी गर्भुदयाल सरभङले स्थानीय केही युवाहरूको सहयोगमा कुटपिट गरेका थिए ।
कुटपिटको घटनापछि नसिबलाई अस्पताल लगिएको थियो तर उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको र अन्ततः ज्यान गएको प्रहरीले जनाएको छ । पीडित पक्षका अनुसार कुटपिटको घटना एउटै दिनमा दुईपटक भएको हो ।
पहिलोपटक कटहरिया बजारस्थित एक खाजाघरमा गर्भुदयाल सरभङले कुटपिट गरे भने भोलिपल्ट गाउँकै सञ्जय यादव र उनका भाइ विजय यादवले नसिबलाई गाउँदेखि पर रहेको आँपको बगैँचामा लगेर पुनः निर्घात कुटपिट गरेका थिए ।
अहिलेसम्म एक आरोपी पक्राउ
इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले घटनामा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरिएको र बाँकी तीनजना फरार रहेको जानकारी दिए। मृतकका आमा सुनैना देवीले चार जनाविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दर्ता गराएकी छन्। प्रहरीले आरोपीहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ ।
पहिले पनि थियो प्रहरीमा उजुरी
घटनाभन्दा अघि असार ३२ गते सञ्जय यादवले इलाका प्रहरी कार्यालय कटहरियामा नसिबले आफ्नो मोबाइल चोरी गरेको भनी निवेदन दिएका थिए। उक्त निवेदनको आधारमा प्रहरीले साउन १ गते नसिबलाई बोलाएर छलफलसमेत गरेको थियो। तर प्रहरीका अनुसार चोरीको कुनै प्रमाण नपाएपछि उनलाई छोडिएको थियो ।
पाँच जनाको परिवार अहिले संकटमा
मृतक नसिब बैठा चार साना छोराका पिता थिए । उनका परिवारमा आर्थिक अवस्था कमजोर रहेको र अहिले न्यायको पर्खाइमा रहेको पीडित परिवारले जनाएको छ । उनीहरूको जीवनयापन र बच्चाहरूको भविष्य अन्योलमा परेको छ ।














