जनकपुर, १४ भदौ । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाले युवा मंचको नयाँ अध्यक्षको रूपमा युवा अभियानी एवं युवा नेता किसन साहलाई सर्वसम्मत मनोनयन गरेका छन् ।
यस मनोनयन समारोहको प्रमुख उद्देश्य पार्टीका युवा विभागलाई थप सक्रिय र प्रभावशाली बनाउन रहेको छ । पार्टीका जिल्ला अध्यक्ष राजेश चौधरी (राजु)ले नव नियुक्त अध्यक्ष किसन साहको मनोनयनको घोषणा गर्दै भने, “हामीलाई विश्वास छ कि किसन साहले युवा संगठनलाई नयाँ दिशा र ऊर्जा प्रदान गर्नेछन् ।
उहाँको नेतृत्वमा पार्टीका युवा कार्यकर्ताहरु अझ सशक्त र समर्पित ढंगले पार्टीका उद्देश्यलाई अघि बढाउनेछन् । नव नियुक्त अध्यक्ष किसन साह एक ऊर्जाशील युवा नेता हुन्, जसले विभिन्न सामाजिक र राजनीतिक क्षेत्रमा आफ्नो सक्रियता देखाएका छन् ।
उनलाई बधाई दिने क्रमसँगै, सामाजिक सञ्जालमा युवाहरुको अभिवादन र शुभकामनाका सन्देशहरु ओइरिएका छन् । पार्टीका समर्थकहरु, साथी र अन्य युवाहरुले किसन साहको नेतृत्वमा पार्टीको युवा संगठनलाई समृद्ध बनाउने विश्वास व्यक्त गरेका छन् । यस अवसरमा किसन साहले भने, “म यो जिम्मेवारीको लागि अत्यन्त आभारी छु ।
मेरो प्राथमिकता पार्टीका युवाहरुलाई सङ्गठित गरेर उनीहरुको क्षमता र पोटेन्सियललाई समाजका लागि उपयोगी बनाउन हुनेछ ।“ उनले युवा शक्ति, रचनात्मकता र नेतृत्व क्षमताको महत्त्वलाई विशेष रूपमा जोड दिए ।
साथै, नव नियुक्त अध्यक्ष साहको समर्थनमा साथीहरुले आगामी दिनमा युवाहरुका लागि नयाँ कार्यक्रम र पहल ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यो मनोनयन कार्यक्रममा अन्य पार्टीका नेता तथा कार्यकर्ता पनि उपस्थित थिए ।














