काठमाडौं, १६ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजलाई ५ विकेटले हराएको छ।
चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलेनले ४३, इशान पाण्डेले २५, शेरफान रथरफोर्डले अविजित २१ र आरिफ शेखले अविजित २० रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। चितवनका रवि बोपाराले सर्वाधिक ४९ रन बनाए भने विवेक यादवले १७, डाविड मलानले १६ तथा अर्जुन साउद र सिकन्दर राजाले समान १५ रन जोडे।
सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए भने चितवनका रञ्जित कुमारले ३ विकेट हात पारे।
यस जितसँगै सुदूरपश्चिमले ४ खेलबाट ४ अंक जोडेको छ। तीन खेल खेलेको चितवनको ३ अंक छ। चितवनको पराजयपछि साविक विजेता लुम्बिनी लायन्स प्रतियोगितामा अपराजित रहने एकमात्र टोली बनेको छ।
एनपीएलअन्तर्गत मंगलबार विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।














