जनकपुर, १४ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशलाई मरुभूमि बनाउने षड्यन्त्रका रूपमा सरकारले ल्याएको भूमि विधेयकको कडा आलोचना गरेका छन् ।
उनले यो विधेयकले चुरे क्षेत्रको विनाशलाई अझ बढाउने र मधेशलाई थप पर्यावरणीय संकटमा पुर्याउने सम्भावना रहेको बताएका छन् । यादवका अनुसार चुरे क्षेत्रको विनाशका कारण पहिले नै मधेशमा भूमिगत पानीको सतह घटिसकेको छ र यदि यही गति चलिरह्यो भने, मधेशलाई मरुभूमि बन्नबाट रोक्न सकिँदैन ।
अध्यक्ष यादवले जनताको भावना र हितविपरीत ल्याइएको भूमि विधेयक एक खतरनाक कदम भएको टिप्पणी गर्दै, सरकारको यो कदम मधेशी समुदायका लागि ठूलो धोका सावित हुनेछ भनेर चेतावनी दिए । उनले भने, “यो विधेयकलाई माध्यम बनाइ गाउँ गाउँमा भूमिगत पानीको स्रोतलाई समाप्त पार्ने काम हुने छ, जसले गर्दा यहाँको कृषि र जनजीविका लागि संकट निम्त्याउनेछ ।
यस क्रममा उनले सरकारको चाललाई समालोचना गर्दै, भनिन्, “यसपटक सरकार सुल्टो बाटोमा जानु पर्छ, तर उनीहरू उल्टो बाटोमा हिँड्न थालेका छन् । अध्यक्ष यादवले मधेशी जनताको हितमा संघर्ष जारी राख्न जसपा नेपालका कार्यकर्तालाई आह्वान गरे । साथै, यस भूमि विधेयकलाई सरकारका विशेषगरी भूमि माफियाले सञ्चालित एक विधेयकको रूपमा पनि व्याख्या गरे ।
यस विरोधको क्रमलाई जारी राख्दै, यसपटक जसपा नेपालले आन्दोलनलाई निष्कर्षसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा स्वास्थ्यकर्मी फोरम मधेश प्रदेशका अध्यक्ष विनोद यादवको अध्यक्षतामा सभा आयोजना गरिएको थियो, जसमा जसपा नेपालका अन्य प्रमुख नेताहरू समेत उपस्थित थिए ।














