काठमाडौं, १२ भदौं । भारतले पाकिस्तानस्थित आतंकवादी संगठन जैस ‘ए’ मोहम्मदका सदस्य बिहार प्रवेश गरेको दाबी गरेका तीनै जना पाकिस्तानी नागरिक मलेसिया फर्किएको पुष्टि भएको छ ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार दुबईबाट एकसाथ काठमाडौँ आएका उनीहरू यहाँबाट छुट्टाछुट्टै मितिमा मलेसिया फर्किएको बताएका छन । हाम्रो अध्यागमनको रेकर्डमा उनीहरुको कुनै पनि कैफियत देखिएन ।
तर विवरण सार्वजनिक भएका व्यक्तिहरू नेपाल आएर फर्किइसकेको देखियो’, महानिर्देशक तिवारीले भने, हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान दुबईबाट साउन २३ गते (अगस्ट ८) मा काठमाडौँ आइपुगेका थिए ।
तर उनीहरू फर्किँदा भने छुट्टाछुट्टै मितिमा मलेसिया गएको पाइएको छ । हसनैन अली बिहीबार (अगस्ट २८) मात्रै मलेसियन एयरलाइन्स ( मालिन्दो एयर)मार्फत मलेसिया फर्किएका हुन् । आदिल हुसैन भदौ ८ गते (अगस्ट २४) मा र मोहम्मद उस्मान साउन ३० गते (अगस्ट १५) मै मलेसिया फर्किएको पुष्टि भएको छ ।
तर उनीहरू आतंकवादी संगठनका सदस्य रहेको भनि अध्यागमनको कालोसूचीमा थिएनन् । उनीहरूलाई रोक्न पर्ने कुनै कारण आफ्नो रेकर्डमा नदेखिएपछि नेपालको अध्यागमन विभागले निर्वाधरुपमै आउजाउ गर्न दिएको छ । तर भारतले भने नेपाल हुँदै आफ्नो राज्य बिहार प्रवेश गरेको दाबी गरेको थियो । उनीहरू तिनैजनाको नाम र तस्बिर पनि सार्वजनिक गरेको थियो ।
भारतले नेपालहुँदै बिहार प्रवेश गरेको दाबी गरेर विवरण सार्वजनिक गरेपछि नेपालको अध्यागमनले चासो दिएर अध्ययन गरेको थियो । भारतले विवरण सार्वजनिक गरेकै पाकिस्तानी नागरिकहरू नेपाल आएको र फर्किइसकेको फेला परेको हो ।
भारतको प्रहरी मुख्यालयले भागलपुरलगायत बिहारका सबै जिल्लामा ‘अलर्ट’ जारी गरेको भारतीय सञ्चारमाध्यामको दाबी छ । पाकिस्तानबाट आएका ती व्यक्तिले अब देशमा आतंकवादी घटना गराउन सक्ने दाबी भारतीय प्रहरीको रहेको समाचारमा उल्लेख छ ।
नेपालसँग सीमा जोडिएका भागलपुर, अररिया, किशनगन्ज, सुपौल, मधुवनी, सीतामढी, पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लालाई उच्च निगरानीमा राखिएको भारतीय प्रहरीले जनाएको थियो ।
उनीहरू यसबीचमा कहाँ कहाँ गए भन्ने विवरण भने प्राप्त छैन । तर भारतमा उनीहरूकै नामले आतंक मच्चिरहँदा उनीहरू भने नेपालको विमानस्थल हुँदै मलेसिया पुगिसकेको पुष्टि भएको हो ।NK
नेपाल हुँदै तीन पाकिस्तानी आतंककारी बिहार प्रवेश, बिहारभर कडा सुरक्षा














