काठमाडौँ, ११ भदौ । नेपाली कांग्रेसकी सांसद् ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदको शपथ लिएकी छन् ।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयको हलमा सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ गराएको छ । सभापति पदका लागि न्यौपाने मात्र उम्मेदवार रहेकी कारण उनी निर्विरोध निर्वाचित भएकी हुन् ।
यसअघिका सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियडसम्बन्धी विवादका कारण साउन २८ गते राजीनामा दिएपछि समिति सभापति पद खाली भएको थियो ।
समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा प्रवेश गरेकी न्यौपानेलाई यसअघि कांग्रेसले सभामुखको उम्मेदवारसमेत बनाएको थियो । संविधानसभाको २०६४ र २०७० दुवै कार्यकालमा सदस्य रहेकी उनले दोस्रो कार्यकालमा पार्टी सचेतकको जिम्मेवारीसमेत वहन गरेकी थिइन् ।
कांग्रेस केन्द्रीय सदस्य न्यौपानेले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघमार्फत सुरु गरेकी थिइन् ।














