जनकपुर, ६ साउन । नेपाल व्युटी प्याराडाइजको आयोजनामा “म्यान अफ नेपाल“ प्रतियोगिताको चौथो संस्करण यसपालि मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुने भएको छ ।
यो प्रतियोगिता मुलुकभरका युवाहरूको प्रतिभा र व्यक्तित्वलाई उजागर गर्ने प्रमुख मञ्चका रूपमा स्थापित हुँदै आएको छ । प्रतियोगितामा देशका सातै प्रदेशबाट छानिएका प्रतिस्पर्धीहरूको सहभागिता रहनेछ ।
अन्तिम चरणमा ७ जना प्रतिस्पर्धीलाई समावेश गरिने आयोजकले जानकारी दिनुभएको छ । सहभागीहरूमध्ये उत्कृष्ट ठहरिने विजेताले भारतमा आगामी वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता “मिष्टर एसिया“ मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउने छन् । साथै, विजेताले नगद १ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
जनकपुरको सांस्कृतिक थिममा प्रतियोगिता
यस वर्षको संस्करण भगवान राम र जानकीको पवित्र नगरी जनकपुरसँग सम्बन्धित थिममा आधारित हुनेछ । आयोजकका अनुसार, प्रतियोगितालाई सांस्कृतिक र धार्मिक सम्पदासँग जोड्दै जनकपुरको महत्त्वलाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्य लिइएको छ ।
प्रतिस्पर्धाका पाँच राउण्ड र ५ दिने क्लोज क्याम्प
प्रतियोगिता कुल ५ वटा राउण्डमा सम्पन्न हुनेछ । प्रारम्भिक चरणमा “ट्यालेन्ट राउण्ड“ र “प्री–फिनाले“ सम्पन्न गरिनेछ भने अन्तिम चरणमा “ग्राण्ड फिनाले“ हुनेछ । प्रतियोगिताअघि सहभागीहरूलाई जनकपुरमा ५ दिने क्लोज क्याम्पमा राखी विभिन्न प्रशिक्षण र तयारी गराइनेछ ।
साउन ५ देखि आवेदन खुला, भदौ २७ मा ग्राण्ड फिनाले
प्रतियोगिताका लागि साउन ५ गतेदेखि आवेदन खुला हुनेछ र साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन प्रक्रिया सम्पन्न भएपछि “पब्लिक च्वाइस अवार्ड“ का लागि अनलाइन भोटिङसमेत सञ्चालन गरिनेछ ।
ग्राण्ड फिनाले कार्यक्रम भदौ २७ गते आयोजना गरिनेछ, जसका लागि व्यापक तयारी सुरु गरिएको आयोजक संस्था नेपाल व्युटी प्याराडाइजले जनाएको छ ।
प्रतियोगितामा विभिन्न शीर्षकमा समेत विजेताहरू छनोट गरिनेछ, जसमा बेस्ट पर्सनालिटी, मोस्ट फोटोजेनिक, बेस्ट क्याटवाक लगायतका विधा समावेश हुनेछन् ।














