जनकपुर, २३ असार । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह कीर्ते र जालसाजीको अभियोगमा पक्राउ परेका छन् ।
दुई महिनादेखि फरार रहँदै आएका साह सोमबार प्रहरीमा आफैँ हाजिर भएको बताएका छन् । यद्यपि, धनुषा प्रहरीले भने उनलाई पक्राउ गरिएको दाबी गरेको छ ।
प्राप्त विवरण अनुसार साहले परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको नक्कली हस्ताक्षर प्रयोग गरी परिषदका चार जना कर्मचारीहरूलाई अवैधानिक रूपमा बर्खास्त गरेको आरोप लागेको छ ।
ती कर्मचारीहरूमा प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी, र नासुद्वय मदन चौधरी र संजय मण्डल रहेका छन् । गत चैत २८ गते कार्यकारी निर्देशक पासवानले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि अनुसन्धान अघि बढेको थियो ।
त्यसपश्चात विधि विज्ञान प्रयोगशालाबाट कीर्ते हस्ताक्षरको परीक्षण प्रतिवेदन माग गरिएको थियो । प्रमाण पुष्ट भएपछि जिल्ला अदालत धनुषाबाट बैशाख २५ गते साहलाई पक्राउ गर्न अनुमति दिइएको थियो ।
यता अध्यक्ष साहले एक विज्ञप्ति जारी गर्दै आफू फरार नभई स्वेच्छिक रूपमा प्रहरीसमक्ष हाजिर भएको दाबी गरेका छन् । “मेरो विरुद्ध उजुरी परेको जानकारी पाएपछि म आफैँ अनुसन्धानमा सघाउन प्रहरीमा हाजिर भएको हुँ,” पत्रमा साहले उल्लेख गरेका छन् ।
हाल धनुषा प्रहरीले साहलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । अदालतले उनलाई ३ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाउन अनुमति दिएको छ ।














