काठमाडौं, १७ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवा विधेयक पारित गर्ने प्रक्रियामै गम्भीर षड्यन्त्र भएको बताएका छन् ।
मंगलबार काठमाडौंको पेरिसडाँडामा आयोजित योङ कम्युनिस्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विधेयकमा नियोजित ढंगले चलखेल गरिएको दाबी गरे ।
‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भइरहेकै छ,’ उनले भने, ‘संघीय निजामती सेवा विधेयकमा समेत षड्यन्त्र भयो । कसले बदमासी ग¥यो, त्यसको छानबिन गरेर कारबाही गरिन्छ ।
उनका अनुसार विधेयकमा गरिएको चलखेल र छेडखानीजस्ता प्रवृत्तिलाई छुट दिन सकिन्न । प्रचण्डले त्यसबारेमा गम्भीर छानबिन गरेर दोषीमाथि कडा कारबाहीको तयारी भइरहेको जनाए ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लामो छलफलपछि अवकाश लिएका कर्मचारीलाई दुई वर्षसम्म कुनै नियोग वा जिम्मेवारी दिन नपाइने व्यवस्था (कुलिङ पिरियड) सहित विधेयक तयार गरेको थियो ।
तर, प्रतिनिधिसभाबाट विधेयक पारित हुँदा ‘बाहेक’ भन्ने शब्द थपिएको देखिएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ ।














