जनकपुरधाम, ७ असार । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा ग्राण्ड कम्प्युटर एण्ड ल्याङ्ग्वेज सेन्टर जनकपुरले सामाजिक उत्तरदायित्वअन्तर्गत सदगुरु कबीर बाल वात्सल्य आश्रममा बसोबास गरिरहेका अनाथ बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।
कार्यक्रमअन्तर्गत खाना पकाउने ग्यास सिलिन्डर, आलु, प्याज, चिनी, बिस्कुटजस्ता आवश्यक खाद्यान्नका साथै कापी, किताबजस्ता शैक्षिक सामग्री वितरण गरिएको थियो ।
सेन्टरका सञ्चालक प्रमोद कुमार पण्डितका अनुसार यस सहयोग कार्यक्रममा कम्प्युटर सेन्टरमा अध्ययनरत विद्यार्थीहरूले पनि सक्रिय सहभागिता जनाएका थिए ।
“योग दिवसको सन्देश भनेको स्वास्थ्य, अनुशासन र आत्मअनुशासन हो । हामीले त्यही सन्देशलाई व्यवहारमा उतार्ने सानो प्रयास गरेका हौं,” सञ्चालक पण्डितले बताए । उनका अनुसार सामग्री वितरणको मुख्य उद्देश्य आश्रममा बसोबास गरिरहेका बालबालिकाको दैनिक जीवन र शिक्षामा केही सहयोग पु¥याउनु रहेको थियो ।
“थोरै भए पनि हाम्रो तर्फबाट गरिएको सहयोगले उनीहरूलाई प्रेरणा मिल्ने विश्वास लिएका छौं,” पण्डितले थपे । हाल आश्रममा डेढ दर्जन बालबालिका आवास गर्दै आएका छन् ।
उनीहरूको पोषण, शिक्षादिक्षा र आधारभूत आवश्यकताको व्यवस्थापन आश्रमकै पहलमा हुँदै आएको आश्रम स्रोतले जानकारी दिएको छ ।
समाजप्रतिको सकारात्मक सन्देश
आश्रमका प्रतिनिधिले सहयोगप्रति आभार प्रकट गर्दै समाजका अन्य संघ–संस्था तथा व्यक्तिहरूलाई पनि यस्तै सहयोगी भावना प्रकट गर्न आह्वान गरेका छन् ।
उनीहरूका अनुसार यस्ता कार्यले बालबालिकाको जीवनस्तरमा सुधार ल्याउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्छ । सञ्चालक पण्डितले बताए अनुसार, विद्यार्थीहरूमा सेवा भाव, सहानुभूति र सामाजिक चेतना विकास गर्न यस्ता गतिविधि प्रभावकारी हुनेछन् ।
“हामी चाहन्छौं कि शिक्षा लिने क्रममा विद्यार्थीहरूले सामाजिक मूल्य र मानवीयता पनि आत्मसात् गरून्,” उनले बताए । 














