काठमाडौं, ७ असार । प्रहरीले झापाबाट एक भारीय युवकलाई हतियारसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा शुक्रबार मेचीनगर नगरपालिका ६ काँकरभिट्टा बसपार्कबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको दुर्गानगर सिलिगुडि बस्ने ३५ वर्षीय जयप्रकाश कुमार पाठक रहेकाा जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
डब्लुबी ७०जी ३२३२ नम्बरको कारमा सवार उनी एकथान चालु अवस्थाको पेस्तोल, त्यसमा लाग्ने म्याग्जिन, पाँच थान गोली, दुईथान खुकुरीसहित पक्राउ परेका हुन् ।
नियन्त्रणमा लिएर गाडी खानतलासी गर्दा चालक बस्ने सिटमुनी लुकाई राखेको अवस्थामा ती हतियारहरु फेला परेको प्रहरीले जनाएको छ ।
उनको साथबाट प्रहरीले दुईथान मोवाइल पनि बरामद गरेको छ । उनलाई इप्रका काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














