एजेन्शी, सुडानको डार्फर क्षेत्रस्थित विस्थापितको शिविरमा गरिएको हवाई आक्रमणमा एकै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको उद्धारकर्मीले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार, डार्फरको राजधानी एल–फासेरनजिकैको उक्त क्षेत्र अर्धसैनिक बल आरएसएफको नियन्त्रणमा छैन । र, खाद्यसंकटबाट गम्भीर रूपमा प्रभावित छ । डार्फर क्षेत्र अफ्रिकामा द्वन्द्वका कारण विस्थापित भएका लाखौँ मानिसको आश्रयस्थल बनेको छ । सेनासँग युद्धरत आरएसएफले पछिल्लो समय यस्ता शिविरलाई निसाना बनाउन थालेको छ ।
अप्रिलमा आरएसएफले गरेको विनाशकारी आक्रमणपछि जामजाम शिविर खाली भएको थियो । राष्ट्रसंघले यो क्षेत्रमा झन्डै १० लाख शरणार्थी रहेका जनाएको छ ।
यो द्वन्द्व सेना प्रमुख अब्देल फताह अल–बुरहान र पूर्वआरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोबीचको शक्तिसंघर्षका रूपमा सुरु भएको हो । हाल देशको उत्तर, पूर्व र केन्द्रमा सेनाको नियन्त्रण छ । आरएसएफले पश्चिमी र दक्षिणी क्षेत्रका धेरै भागमा प्रभुत्व जमाएको छ ।














