काठमाडौं, ४ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिमा ढिलाई नगर्न सरकारलाई सुझाव दिएको छ ।
स्वार्थ समूहको बिगबिगी भइरहेको बताउँदै उनले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखा परेका गम्भी समस्याको समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिएको हो ।
रुपन्देहीमा बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गभर्न नियुक्तिको विषयमा दलहरुबीच नभइ बिचौलियाबीच कुरा नमिलेको दाबी गरे । त्यसै कारणले ढिला भएको उनको दाबी छ । यो समूहको हुने कि त्यो समूहको हुने भन्ने टुंगिएको छैन ।
उनीहरुले कहिले कांग्रेसलाई कहिले एमालेलाई पक्डेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकार पनि बिचौलियाको स्वार्थ अनुसार नै काम गरिरहेको बताउँदै राम्रो काम गर्ने इमानदार कर्मचारीहरुलाई प्रताडित गर्ने, अपमानित गर्ने र निकाल्ने र नराम्रोलाई भर्ती गर्ने काम भइरहेको बताए ।
उनले यसरी अर्थतन्त्रलाई नियमन, नियमित गर्ने, सन्तुलित बनाउने महत्वपूर्ण संवेशदनशील पदका विषयमा हुने बिचौलियाको चलखेल बन्द गर्न आग्रह गरे ।














