काठमाडौँ, २० कार्तिक । नेपालमा डेंगु संक्रमणको प्रकोप बढ्दै जाँदा ६ जिल्ला उच्च जोखिममा परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसवर्ष गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको हो । पछिल्लो तथ्यांक अनुसार गण्डकी प्रदेशमा मात्र यस वर्ष १३ हजार ८९८ जना संक्रमित भेटिएका छन्, जुन देशभरका कूल संक्रमितको झण्डै ५० प्रतिशत हो । गण्डकी प्रदेशमा डेंगुका कारण ८ जनाले ज्यान गुमाइसकेका छन् भने देशभर डेंगुबाट १२ जनाको मृत्यु भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार यसवर्ष २८ हजार २१२ संक्रमित भएका भएका छन् । काठमाडौँ उपत्यकामा पनि संक्रमणको दर उच्च रहेको छ । काठमाडौंमा ४ हजार ३१३ र ललितपुरमा १ हजार १११ संक्रमित भेटिएका छन् । त्यसैगरी पर्वतमा १ हजार ६७७ र चितवनमा १ हजार ९९ संक्रमित पुष्टि भएका छन् ।
टेकु अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार केही बिरामीहरूमा दोहोरो संक्रमण देखिएको छ । यस्ता बिरामीहरूलाई आईसीयूमा राखेर उपचार गर्नुपरेको छ ।
इडीसीडीका अधिकारीहरूका अनुसार मृत्यु हुने अधिकांश व्यक्तिहरू दीर्घरोगी रहेका छन्। उच्च रक्तचाप, मधुमेह, मुटुरोग र कमजोर रोग प्रतिरोधी क्षमता भएका व्यक्तिहरू बढी जोखिममा रहेको डा. चालिसले बताए । माघ र फागुन महिनाको तथ्यांकले नै गण्डकी प्रदेशमा डेंगु फैलिने संकेत दिएको थियो ।यसैले स्थानीय तहलाई विशेष प्राथमिकतामा राखेर काम गरिएको डा. दाहालले बताए ।














