काठमाडौं, १७ असार । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटाइएकी छन् ।
बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले आइतबार श्रेष्ठलाई हटाएर प्रमुख सचेतक गंगाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको छ ।
पार्टीका संरक्षक लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । संसदीय दलको नेता परिवर्तन गरेको कुरा औपचारिक रूपमा संसद सचिवालयलाई जानकारी गराउन बाँकी रहेको नाउपाले जनाएको छ ।
दल नेतामा चयन भएका गंगा चौधरीले उक्त निर्णयबारे सचिवालयलाई सोमबार जानकारी गराइने बताएको छ । गत फागुनमा संघमा राजनीतिक समीकरण फेरिएपछि नागरिक उन्मुक्ति पार्टीभित्र सरकारमा सहभागिताको विषयलाई लिएर अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद थियो ।
रञ्जिता पक्षका कैलाश चौधरी र टीका थापा सरकारमा सहभागी भएका बेला रेशम पक्षका अन्य पाँच जना भने कांग्रेससँगै प्रतिपक्षी बेन्चमा बसेका छन् । बर्दिया–२ बाट निर्वाचित लालवीर रेशम चौधरीका बुवा हुन् ।












