जनकपुर, २५ जेष्ठ । मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले आफ्नो दाबी पेस गरेका छन् ।
गठबन्धन दलहरुबीच गएराति अबेर मुख्यमन्त्रीलगायत मन्त्रालयको बाडँफाँटमा सहमति जुटेको थियो उनीहरुले ५५ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेको जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादले जानकारी दिनुभएको छ ।
एक सय सात सदस्यीय मधेश प्रदेश सभामा एमालेका २४, जनमतका १३, माओवादीका ९ र एकीकृत समाजवादीका ७ र एक–एक प्रदेशसभा सदस्य रहेका संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि नयाँ सरकारलाइ साथ दिएका छन् ।
उनलाई मधेस प्रदेशका तेस्रो मुख्यमन्त्रीको रुपमा सिंहलाई शपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
यसअघि हिजो दिनभरि नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमत पार्टीबीच मन्त्रालय बाँडफाँटमा छलफल भए पनि सहमति नजुटेपछि दाबी पेस गर्नमा ढिलाइ भएको थियो।
मुख्यमन्त्रीमा दाबी पेस गर्न अहिले १० बजेसम्मको समय दिइएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँको सरकार ढलेको छ ।
यादवको सरकार अल्पमतमा परेसँगै प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेको छ ।














