जनकपुरधाम, २३ जेठ । मधेशमा जसपा नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभा बैठकमा विश्वास गुमाएका छन् ।
उनी पदमुक्त भएका छन् । मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ भने विपक्षमा भने ५३ मत परेको छ । प्रदेशसभामा १०३ सांसद उपस्थित थिए ।
सरकार जोगाउन उनलाई ५४ मतको आवश्यक्ता रहेको थियो । सभामुख रामचन्द्र मण्डलले गरेको मत विभाजनको प्रक्रिया मार्फत प्रदेशसभा सदस्यहरुलाई पक्ष विपक्षमा मतदान गर्न लगाएका थिए ।
मुख्यमन्त्रीलाई जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ । विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका गरी दुई सांसद अनुपस्थित थिए । १०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ ।
त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक÷एक सिट छ । २३ पुस २०७९ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए ।
गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका थिए । बुधवार पाँचौपटक विश्वासको मत लिँदा मुख्यमन्त्री यादव पदमुक्त भएका हुन् ।
योसंगै मधेशसमा साढे ६ वर्षपछि जसपा नेपालको नेतृत्वको सरकार ढलेको छ । अब जनमत को नेतृत्वमा नयाँ सरकार बन्ने तयारी छ । जनमत संसदीय दलका नेता महेश प्रसाद यादव मुख्यमन्त्री बन्ने करिब निश्चित छ ।














