काठमाडौं, २३ जेठ । गत कात्तिक १७ गते गएको भूकम्पले क्षतिग्रस्त बनेको जाजरकोट र रुकुम पश्चिम मनसुनजन्य विपद्को पनि उच्च जोखिम क्षेत्रमा परेको छ ।
राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको अध्ययनले जाजरकोट र रुकुमपश्चिमसहित १६ जिल्लाका विभिन्न ठाउँलाई मनसुनजन्य विपद्को जोखिम क्षेत्र घोषणा गरिएको हो ।
प्राधिकरणले गरेको अध्ययनअनुसार जाजरकोट र रुकुमपश्चिमसहित गोरखा, पर्वत, म्याग्दी, तनहुँ, पाल्पा, बाजुरा, डडेल्धुरा, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर, दोलखा, सिन्धुपाल्चोक र रसुवा मनसुनजन्य विपद्को जोखिममा रहेको छ ।
त्यसमध्ये म्याग्दीको मंगला गाउँपालिका, पाल्पाको निस्दी गाउँपालिका, जाजरकोटका ६ पालिका र रुकुमपश्चिम, सुदूरपश्चिम बाजुराको जगन्नाथ र आलिताल गाउँपालिका, दोलखाको गौरीशंकर गाउँपालिका, ओखलढुंगा, सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशीका विभिन्न बस्ती नै सार्नुपर्ने गरी पहिरोको १० क्षेत्र उच्च जोखिममा रहेको प्राधिकरणले जनाएको छ ।












