जनकपुरधाम, १० जेठ । धनुषामा क्रसरमा एक युवकको शव फेला परेको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित सञ्चालित कमला स्टोन क्रसरमा युवकको शव ढुंगा फोड्ने मेसिनको फित्तामा भटिएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार गणेशमान चारनाथ नगरपालिका – ६ गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको छ ।
मजदुरका रुपमा काम गर्ने उनको राति ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा शव फेला परेको हो । त्यही क्रसरमा काम गर्ने बाराक निजगढ बस्ने ४५ वर्षीय खेमकुमार मगर घाइते भएको डिएसपी अवाले बताए ।
मृतकका मामा खुसीलाल यादवले घटना हत्या हुन सक्ने शंका रहेको दावी गरेका छन । उनले क्रसर सञ्चालक सबै घटना पश्चात् फरार भएकाले सुक्ष्म अनुसन्धान गर्न माग गरे ।
प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।












