कठमाडौं, ५ जेष्ठ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल र कांग्रेस नेताहरूबीचको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको बैठकमा सहभागी रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिनुभएको छ ।
छलफलमा प्रधानमन्त्री प्रचण्ड, एमालेबाट अध्यक्ष केपी शर्मा ओली र कानुनमन्त्री पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रहेका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्ले थिए ।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । छलफलमा संसदीय समिति गठनका विषयमा समान धारणा बनेको कांग्रेस नेता रमेश लेखकले बताए ।
बैठकले छानबिन समितिका लागि कार्यादेश तय गर्न कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा कांग्रेसबाट सहमहामन्त्री जीवन परियार, एमालेबाट प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद शिशिर खनाल सदस्य छन् । कार्यादेशबारे भोलिदेखि छलफल हुने मन्त्री गिरीले बताए ।














