जनकपुरधाम, १ कार्तिक । दसैँको अष्टमीका दिन धनुषामा एक १७ वर्षीया किशोरीको शव पोखरीमा फेला परेको छ। नगराइन नगरपालिका–७ देवडिहाकी राखी कामतीको शव नगराइन–६ लगमा टोलस्थित पोखरीमा भेटिएको हो।
प्राप्त जानकारीअनुसार, मृतक राखी शनिबार साँझ झिझिया हेर्न नगराइन नगरपालिका–६ स्थित लगमा टोल गएकी थिइन्। त्यसपछि उनको शव पोखरीमा फेला परेको बताइएको छ। दसैँको चाडपर्वका बेला किशोरीको शव फेला परेपछि परिवार तथा स्थानीय क्षेत्रमा शोक छाएको छ।
मृतकका बुवा सुबोध कामतीले छोरीको मृत्यु शंकास्पद रहेको भन्दै हत्या भएको आशंका व्यक्त गरेका छन्। घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन।
घटनाबारे जानकारी पाएपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। किशोरीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ। पोस्टमार्टम रिपोर्ट तथा प्रहरी अनुसन्धानपछि मात्रै मृत्युको कारणबारे थप तथ्य खुल्ने जनाएको छ ।
प्रहरीले घटनासँग सम्बन्धित परिस्थितिको अनुसन्धान गरिरहेको जनाएको छ। किशोरीको मृत्यु दुर्घटना, आत्महत्या वा अन्य कुनै कारणले भएको हो भन्नेबारे आधिकारिक पुष्टि हुन बाँकी छ।













