काठमाडौं, २४ असोज । राष्ट्रिय मानव अधिकार आयोगले मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय र विभेदरहित बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै आयोगले संविधान र कानुनले सुनिश्चित गरेको स्वास्थ्य सम्बन्धी अधिकार कार्यान्वयन गरी सबै नागरिकको मानसिक स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन जोड दिएको हो।
आयोगले तीनै तहका सरकारलाई सबै स्थानीय तहमा मनोसामाजिक परामर्श दिने जनशक्तिको व्यवस्था गर्न तथा मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिको गोपनीयता, आत्मसम्मान र सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ।
मानसिक स्वास्थ्य सेवामा सीमित पहुँच, सामाजिक लाञ्छना, विभेद, आर्थिक कठिनाइ र सहयोगको अभावका कारण प्रभावित व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रभावित भइरहेको आयोगले जनाएको छ।
अक्टोबर १० मा मनाइने विश्व मानसिक स्वास्थ्य दिवस यस वर्ष ‘भोगाइलाई सुनौँ, आवाजलाई सम्मान गरौँ, परिवर्तनको सुरुवात गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ।














