काठमाडौँ, १८ असोज । जनमत पार्टीको अध्यक्षमा डा. सिके राउत पुनः निर्वाचित भएका छन्। हालै सम्पन्न मतगणनाबाट राउत अध्यक्ष र सञ्जयकुमार यादव महासचिवमा निर्वाचित भएको जनाइएको छ।
अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परे पनि पार्टी विधानअनुसार २० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था रहेकाले मतदान भएको थियो। राउतले आवश्यकभन्दा बढी मत प्राप्त गरेको बताइए पनि उनको कुल मत सार्वजनिक गरिएको छैन।
महासचिव पदमा सञ्जयकुमार यादव, ममता झा र चन्दनकुमार सिंहबीच प्रतिस्पर्धा भएको थियो। तीमध्ये सिरहाका यादवले सबैभन्दा बढी मत प्राप्त गर्दै महासचिवमा निर्वाचित भएको जनाइएको छ। यसअघि महासचिव रहेका सिंह पनि प्रतिस्पर्धामा थिए।
मतदानमा १ हजार १५५ जना सहभागी भएका थिए। यादव मधेश प्रदेशका प्रदेशसभा सदस्य हुन् भने यसअघि दुईपटक मन्त्रीसमेत भइसकेका छन्।
यस्तै, सात उपाध्यक्षका लागि १४ जना, एक उपमहासचिवका लागि दुई जना र सात सचिवका लागि १० जनाको उम्मेदवारी परेको छ।












