काठमाडौँ, १५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले सुशासनलाई प्राथमिकतामा राख्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुधारका काम अघि बढाएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा सरकारको पछिल्लो ६ महिनाको कामको समीक्षा गर्दै उनले न्याय, सुरक्षा, कर्मचारी प्रशासन र संवैधानिक निकायमा देखिएको दलीय हस्तक्षेप तथा आर्थिक चलखेल अन्त्य गरी विधि र जवाफदेहितामा आधारित प्रणाली निर्माण गर्नुपर्ने बताए।
पराजुलीले कर्मचारी सरुवामा डिजिटल प्रणाली, घरमै लाइसेन्स तथा राहदानी सेवा, स्थानीय तहसम्म भूमि प्रशासन विस्तार र भूमिहीनलाई लालपुर्जा वितरणजस्ता कामलाई नागरिकले महसुस गर्ने सुधारका रूपमा उल्लेख गरे। समयसीमा तोकेर फाइल टुंग्याउने अभियान, कार्यसम्पादनमा आधारित सम्झौता, राष्ट्रिय सदाचार नीति तथा सार्वजनिक जग्गा र सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा पनि प्रगति भएको उनको भनाइ थियो।
खुला आवेदनबाट राजदूत सिफारिस गर्ने प्रक्रियाले योग्यतालाई प्राथमिकता दिएको भन्दै उनले सुशासनका क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको बताए। जायज कामका लागि घुस मागिए विवरणसहित जानकारी गराउन पनि उनले नागरिकलाई आग्रह गरे।
सामाजिक सञ्जालमा विचार व्यक्त गर्दा तथ्य, तर्क र मर्यादा कायम गर्नुपर्नेमा जोड दिँदै पराजुलीले गालीगलौज, चरित्रहत्या र मानहानीलाई कानुनी तथा सामाजिक रूपमा गम्भीर विषयका रूपमा लिनुपर्ने बताए। राजनीतिक नेतृत्वमा रहेका व्यक्तिले समेत आफ्नो बोली र व्यवहारमा संयम तथा जवाफदेहिता देखाउनुपर्ने उनको भनाइ थियो।














