काठमाडौँ, १५ असोज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रका मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गरी संगठनलाई थप मजबुत बनाउने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत देउवाले देशभर सुरु हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन नेता–कार्यकर्तालाई आग्रह गरे। उनले कांग्रेसको लामो राजनीतिक यात्रामा १५औँ महाधिवेशन महत्वपूर्ण रहेको उल्लेख गर्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता र विधिको शासनका लागि पार्टीको संघर्षलाई थप सुदृढ बनाउन महाधिवेशनले भूमिका खेल्ने बताए।
देउवा समूहले ६ हजार ७ सय ४३ वडामा अधिवेशन गर्ने जनाएको छ। काठमाडौंमा मंसिर २१ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराइएको छ।














