काठमाडौ, ८ असोज । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकले पूर्वराष्ट्रपति एवं पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको छ।
केन्द्रीय कमिटी बैठकअघि बसेको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्तावसहित केन्द्रीय सदस्यमा मनोनीत हुने नामहरू पारित गरेको थियो।
पार्टी सदस्यता दिने विषयमा भएको आन्तरिक बहसपछि उनलाई सर्वसम्मत रूपमा वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरिएको हो।
एमाले सचिव हिक्मत कार्की र पद्मा अर्यालले भण्डारीको राजनीतिक तथा सांगठनिक अनुभव पार्टीका लागि उपयोगी हुने बताएका छन्। सचिव महेश बस्नेतले बैठक सौहार्दपूर्ण रूपमा सम्पन्न भएको दाबी गर्दै पार्टीलाई एकताबद्ध बनाउने विषयमा जोड दिइएको बताए।
असोज ५ गतेदेखि जारी बैठक आज सकिँदैछ। बुधबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो।














