काठमाडौं, १८ भदौ । रसुवा बाढीबाट प्रभावितका लागि चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२० ए मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो। राहत सामग्रीमा शव व्यवस्थापनका लागि फ्रिजर, महामारी नियन्त्रणका सामग्री, दैनिक उपभोग्य वस्तु तथा विपद्का बेला आवश्यक अन्य सामग्री रहेका छन्।
यसपटकको सहयोगमा उद्धार, आवतजावत तथा पुनर्स्थापनाका लागि प्रयोग हुने बेलीब्रिज पनि समावेश छ। बेलीब्रिज जडानका लागि आवश्यक उपकरण भने स्थलमार्गबाट लिजी–नेचुङ सीमा नाकासम्म ल्याइएको जनाइएको छ।
शव पहिचान प्रक्रियामा प्राविधिक सहयोग गर्न चीनबाट १० जना फरेन्सिक विज्ञको टोलीसमेत नेपाल आएको छ। उनीहरूले नेपाली निकायसँग समन्वय गरी शव पहिचान तथा फरेन्सिक प्रक्रियामा सहयोग गर्नेछन्।
विमानस्थलमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए।














