काठमाडौं, १७ भदौ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी तथा पहिरो प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
धादिङको गल्छी गाउँपालिकामा पुगेर ओलीले प्रभावित परिवारसँग भेट गरी उनीहरूको समस्या र क्षतिको अवस्थाबारे जानकारी लिए। उनले एमालेनिकट युवा संघ, अनेरास्ववियु र जिफन्टलगायत संगठनलाई राहत तथा पुनर्स्थापनाको काम अझ प्रभावकारी बनाउन निर्देशन दिए।
त्यसपछि नुवाकोटको बेलकोटगढी पुगेर ओलीले बाढीपहिरोबाट भएको क्षतिको निरीक्षण गर्दै पीडितसँग भेटघाट गरे। एमालेले बाढीपीडितका लागि १ करोड २० लाख रुपैयाँ छुट्याएको छ।
सरकारी राहत कोषमा रकम जम्मा गर्नुको सट्टा पार्टीकै संयन्त्रमार्फत स्वयंसेवक परिचालन गरी पीडितको घरदैलोमा राहत पुर्याउने एमालेले जनाएको छ।














