काठमाडौं, १६ भदौ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विपद्को जोखिम घटाउन नेपालको विकास निर्माण र भौतिक पूर्वाधारको ढाँचा नै पुनर्लेखन गर्नुपर्ने बताएकी छन्।
हालैका बाढी, पहिरो र भूकम्पलगायतका विपद् उल्लेख गर्दै उनले परम्परागत निर्माण पद्धतिले अब मुलुकको भविष्य सुरक्षित गर्न नसक्ने धारणा राखेकी हुन्। सामाजिक सञ्जालमार्फत उनले जलवायु परिवर्तनको असर नेपालले ठूलो मूल्य चुकाएर भोगिरहेको बताएकी छन्।
गौतमले विपद्पछि पुनर्निर्माणमा मात्रै केन्द्रित नभई जोखिम सहन सक्ने संरचना निर्माण गर्नुपर्नेमा जोड दिएकी छन्। उनका अनुसार सुरक्षित भूउपयोग, योजनाबद्ध बस्ती, सुरक्षित विद्यालय तथा अस्पताल र जलवायु अनुकूल पूर्वाधारलाई विकासका आधार बनाउन आवश्यक छ।
उनले विपद् तथा जलवायु उत्थानशीलतालाई हरेक विकाससम्बन्धी कानून, नीति र योजनाको आधारभूत सिद्धान्त बनाउनुपर्ने बताउँदै आवश्यक क्षेत्रमा योजनाबद्ध पुनर्वासको नीति अपनाउनुपर्ने धारणा राखेकी छन्।














