काठमाडौं, १५ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावितको खोजी, उद्धार, उपचार, राहत तथा सुरक्षित व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले विपद्का बेला अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, स्वयंसेवक र आमनागरिकको योगदानको प्रशंसा गर्दै सहयोग र समन्वयका लागि धन्यवाद दिएका छन्।
उनले भोटेकोशी बाढी हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्ति भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण यस्ता जोखिम बढ्दै गएको बताए। यस विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष मजबुत रूपमा उठाउनुपर्ने उनको भनाइ छ।
सरकारले रसुवा, नुवाकोट र धादिङमा खोज तथा उद्धारसँगै राहत संकलन र वितरणलाई निरन्तरता दिएको छ। भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट समेत सहयोग प्राप्त भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिए।
उनका अनुसार चार वटा सङ्कलन केन्द्रबाट रसुवा र नुवाकोटका २७ वितरण केन्द्रमार्फत हालसम्म ३ हजार ६९६ प्रभावित नागरिकलाई राहत पुर्याइएको छ। प्रदेश तथा स्थानीय सरकार पनि संघीय सरकारसँग समन्वय गरी आश्रय र राहत व्यवस्थापनमा सक्रिय छन्।














