काठमाडौं, १४ भदौ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि केबल आउटलेट टनेलबाट भित्र प्रवेश गर्ने तयारी तीव्र पारिएको छ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विद्युत् प्राधिकरणका प्राविधिकसहितको टोलीले सुरुङको अवरोध हटाउने काम गरिरहेको छ। उद्धार टोलीले सुरुङको माथिल्लो भाग ‘क्राउन हेड’ फेला पारेर एक्साभेटरलगायत उपकरण प्रयोग गरी प्रवेशमार्ग खुलाउँदैछ।
अवरोध हटेपछि अक्सिजन र क्यामरासहित उद्धारकर्मीलाई सुरुङभित्र पठाउने तयारी छ। आवश्यक परे ब्लास्टिङ गरेर प्वाल फराकिलो बनाउने विकल्पसमेत अघि बढाइएको छ।
उद्धारस्थलमा सुरक्षाकर्मी तथा उद्धारकर्मीसहित ९० जनाको संयुक्त टोली परिचालित छ। आयोजनाबाट ४२ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।














