काठमाडौँ, १४ भदौ । मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भए पनि काठमाडौंमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा समस्या नहुने नेपाल आयल निगमले जनाएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभिर नजिक त्रिशूली नदीले सडक कटान गरेपछि राजमार्ग पूर्णरूपमा बन्द भएको हो।
सडक अवरुद्ध भएपछि निगमले मकवानपुरको वैकल्पिक मार्ग हुँदै इन्धन र ग्यास काठमाडौं ल्याउने व्यवस्था मिलाएको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले अमलेखगञ्ज डिपोमा पाइपलाइनबाट पर्याप्त तेल आउने भएकाले वैकल्पिक बाटोबाट साना ट्यांकरमार्फत काठमाडौंमा आपूर्ति निरन्तर रहने बताए।
केही दिनदेखि रोकिएका अधिकांश ट्यांकर शनिबार काठमाडौं आइसकेकाले तत्काल बजारमा इन्धन अभाव नहुने निगमको भनाइ छ।
निगमले सडक बन्द भएको कारण बजारमा इन्धन अभाव हुने त्रासमा नपर्न उपभोक्तालाई आग्रह गरेको छ।














