काठमाडौँ, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहत कार्यबारे जानकारी लिएका छन् । आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा उद्धार तथा राहत संयन्त्रका नेताहरूसँग छलफल गर्दै लामिछानेले प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न पार्टीका सबै तह र निकायलाई निर्देशन दिएका छन्।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा हालसम्म भएका कामको विवरण लिँदै राहत तथा उद्धारलाई थप प्रभावकारी बनाउने विषयमा निर्देशन दिइएको हो।
भदौ १० गते आएको भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ।














