काठमाडौं, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ। नेपाल प्रहरीले साँझसम्म ९५ जनाको मृत्यु पुष्टि भएको जनाएको छ।
प्रहरीका अनुसार मृतकमध्ये २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक र २० जनाको पहिचान खुल्न सकेको छैन। रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासी पूर्वमा शव फेला परेका छन्।
बाढीमा घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूमध्ये त्रिवि शिक्षण अस्पतालमा २१, राष्ट्रिय ट्रमा सेन्टरमा ७, रसुवा अस्पतालमा २१ र त्रिशूली अस्पतालमा १६ जनासहित अन्य अस्पतालमा समेत उपचार भइरहेको छ।
यस्तै, रसुवाका विभिन्न स्थानमा खटिएका केही प्रहरीसमेत अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, मैलुङ, वेत्रावती र हाकुबाट प्रहरी सम्पर्कमा नआएको बताइएको छ।














