जनकपुर, ९ भदौ । मधेश प्रदेश सरकारले प्रदेश प्रहरीको क्षमता अभिवृद्धि तथा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले खरिद गरेका सञ्चार तथा सुरक्षा सामग्री नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।
मंगलबार गृह, सञ्चार तथा कानुन मन्त्रालयको परिसरमा आयोजित कार्यक्रममा मन्त्रालयका मन्त्री फकिरा महतोले खरिद गरिएका सामग्री मधेश प्रदेश प्रहरी प्रमुखलाई हस्तान्तरण गरेका हुन् ।
मन्त्रालयले आयोजना गरेको ‘सञ्चार सामग्री हस्तान्तरण कार्यक्रम’ मार्फत प्रदेश प्रहरी कार्यालयलाई आवश्यक सञ्चार तथा सुरक्षा सामग्री उपलब्ध गराइएको हो ।
प्रहरीको दैनिक कार्यसम्पादन, सुरक्षा निगरानी तथा सूचना सम्प्रेषणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सामग्री हस्तान्तरण गरिएको मन्त्री महतोले जनाएको छ ।
प्रदेश सरकारले सुरक्षा निकायलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउँदै प्रहरीको क्षमता बढाउने नीति लिएको मन्त्री महतोले बताए । सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै अपराध नियन्त्रण, निगरानी तथा शान्ति–सुरक्षा कायम गर्न यस्ता सामग्रीले सहयोग पुग्ने उनले बताए ।
मन्त्री महतोका अनुसार प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले खरिद गरेका सामग्री प्रदेश प्रहरी कार्यालयमार्फत आवश्यकताअनुसार प्रयोगमा ल्याइनेछ ।
मधेश प्रदेश सरकारले …सुरक्षित मधेश, समृद्ध मधेशÚको अवधारणा अनुसार प्रदेशको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने प्रयास जारी राखेको जनाएको छ । साथै यो भन्दा पहिले प्रदेशका बिभिन्न जिल्ला प्रहरी कार्यलयलाई १२ पिकप भ्यान वितरण गरिसकेको छ ।














