काठमाडौं, ९ भदौँ । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले उनीहरूलाई शपथ गराएका हुन्।
नेकपाबाट दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’लाई स्वास्थ्य तथा बर्दियाकी कृष्णाकुमारी थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
केन्द्रमा भएको सहमतिअनुसार मुख्यमन्त्री चेतनारायण आचार्यले उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन्। तीन मन्त्री थपिएसँगै लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।














