वीरगन्ज, ८ भदौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका आरोपीको अनुसन्धानका क्रममा खिचिएको भिडियो सामाजिक सञ्जालमा फैलाएको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा जिल्लामै दरबन्दी रहेका प्रहरी हवल्दार कुमार विक छन् । अनुसन्धानका क्रममा आरोपीसँग सोधपुछ गरिएका विषय समेटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको स्रोतबारे प्रहरीले आन्तरिक छानबिन थालेको थियो ।
छानबिनका क्रममा हवल्दार विकले अनुसन्धानका क्रममा तयार भएको भिडियो आफ्ना एक साथीलाई म्यासेन्जरमार्फत पठाएको र उक्त भिडियो त्यही माध्यम हुँदै सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
बारा प्रहरी प्रमुख नरेन्द्र कुँवरका अनुसार अनुसन्धानमा गोपनीयता कायम गर्नुपर्ने विषयलाई बेवास्ता गर्दै भिडियो बाहिर पठाएको देखिएपछि विकलाई नियन्त्रणमा लिइएको हो। उनलाई गोपनीयताको अधिकार हनन गरेको आरोपमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले भिडियो कसरी बाहिरियो, त्यसलाई सामाजिक सञ्जालमा कसरी फैलाइयो तथा घटनामा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ ।














