सप्तरी, ७ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिका खुशी खातुनको हत्या आरोपमा उनकी सौतेनी आमा १९ वर्षीया मुस्कान खातुन पक्राउ परेकी छन्।
प्रहरीका अनुसार आइतबार बिहान घरबाट हराएकी खुशीको शव करिब दुई घण्टापछि घर पछाडिको झाडीमा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा हत्या सौतेनी आमाले गरेको देखिएको सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काले बताएका छन्।
शवमा बाहिरी चोट नदेखिएको र घटनामा एक जनाको मात्रै संलग्नता देखिएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ।
घटनापछि स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गर्दै रुपनी बजार केही समय बन्द गराएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














