काठमाडौं, ७ भदौ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले वर्षौँ पुराना आपराधिक घटनामा संलग्न व्यक्ति कानुनबाट उम्किन नसक्ने बताएका छन्। उनले प्रहरी संगठनले विगतका घटनालाई ‘इन्स्टिच्युसनल मेमोरी’का रूपमा सुरक्षित राख्ने भएकाले प्रमाण र अनुसन्धानका आधारमा जुनसुकै बेला अपराधीलाई कानुनी दायरामा ल्याउन सकिने स्पष्ट पारे।
राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा कार्कीले व्यक्तिगत स्मरण समयसँगै कमजोर भए पनि प्रहरी संस्थाले अपराधका घटनालाई नबिर्सने बताए। पुराना चर्चित तथा जघन्य अपराधको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको र केही घटनामा सफलता प्राप्त भइरहेको उनको भनाइ छ।
केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पुराना गम्भीर अपराधको अनुसन्धान जारी रहेको उल्लेख गर्दै उनले नयाँ र पुराना मुद्दालाई समानान्तर रूपमा अघि बढाइएको जानकारी दिए।
महानिरीक्षक कार्कीले प्रविधिको तीव्र विकाससँगै साइबर तथा आर्थिक अपराध बढिरहेको भन्दै प्रहरीको अनुसन्धान प्रणालीलाई पनि आधुनिक र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए। सोहीअनुसार विशिष्टीकृत अनुसन्धान इकाइ तथा आवश्यक जनशक्ति परिचालन गरिएको उनले बताए।
उनका अनुसार नागरिकलाई प्रहरी कार्यालयसम्म धाउन नपर्ने गरी प्रविधिमार्फत सेवा उपलब्ध गराउने प्रणाली विकास भइरहेको छ। ‘नेपाल पुलिस एप’बाट घरबाटै आवेदन तथा निवेदन दिने र सेवासम्बन्धी जानकारी लिन सकिने व्यवस्था विस्तार गरिएको उनले बताए।
अपराधको अन्तर्राष्ट्रिय सञ्जाल नियन्त्रणका लागि इन्टरपोल तथा विभिन्न देशका विशिष्टीकृत प्रहरी निकायसँग समेत सहकार्य भइरहेको कार्कीले जानकारी दिए। आधुनिक ‘पुलिसिङ’का मापदण्ड अवलम्बन गर्दै प्रविधिको प्रयोगबाट हुने अपराध नियन्त्रणमा प्रहरीलाई सक्षम बनाउँदै लगिएको उनको भनाइ छ।
प्रहरी नागरिकको सबैभन्दा नजिक रहेर राज्यको प्रतिनिधित्व गर्ने संस्था भएकाले शान्ति–सुरक्षा कायम गर्न आमनागरिकको सहयोग आवश्यक रहेको कार्कीले बताए। उनले आपराधिक गतिविधिमा संलग्न व्यक्तिबारे प्रहरीलाई सूचना उपलब्ध गराई सहयोग गर्न नागरिकसँग आग्रहसमेत गरे।














