जनकपुर,७ भदौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानको रक्षाका लागि व्यवसायीहरू पनि सक्रिय हुनुपर्ने बताएका छन्।
जनकपुरधाम सुनचाँदी व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा बोल्दै निधिले लामो संघर्ष र दुई पटकको संविधानसभा निर्वाचनबाट प्राप्त संघीय संरचना तथा संविधानमाथि विभिन्न पक्षबाट चुनौती उत्पन्न भइरहेको बताए।
राजनीतिक प्रणालीमा संकट आउँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने भएकाले व्यवसायीले राजनीतिप्रति चासो राख्दै प्रणाली संरक्षणमा एकजुट हुनुपर्ने उनको भनाइ थियो।
निधिले सुनचाँदी व्यवसायीलाई ‘कालोबजारी’को रूपमा हेर्ने सरकारी दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए। व्यवसायीका लागि सुरक्षित र मर्यादित कानुनी वातावरण निर्माण गर्दै ग्राहकबाट फिर्ता वा खरिद गरिएको सुन बैंकले सहज रूपमा खरिद गर्ने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए।














