काठमाडौँ, ७ भदौ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी मूल विचार, वर्गीय आधार र दीर्घकालीन रणनीतिबाट विचलित हुँदा राजनीतिक रूपमा कमजोर बनेको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी पछिल्लो समय सत्ता प्राप्ति, सत्ता समीकरण निर्माण र सरकार ढाल्ने–बनाउने कार्यमै बढी केन्द्रित हुनु गम्भीर गल्ती भएको स्वीकार गरे।
उनले विगतमा जनयुद्धका क्रममा स्पष्ट रणनीति बनाएर त्यसअनुसार कार्यनीति तय गर्दा पार्टी सफल भएको उल्लेख गर्दै अहिले भने रणनीति र कार्यनीतिबीचको भिन्नता नै मेटिँदा समस्या उत्पन्न भएको बताए।
प्रचण्डले भने, ‘हामी बढी कार्यनीतिमा अल्झियौँ। सत्ता समीकरण बनाउने र भत्काउने नै कामको केन्द्रबिन्दु बन्न पुग्यो। उनका अनुसार जनयुद्धका बेला सामन्तवादलाई परास्त गर्ने स्पष्ट रणनीति थियो। त्यस रणनीति हासिल गर्न आवश्यक कार्यनीति निर्माण गरेर अघि बढ्दा सफलता प्राप्त भएको उनको भनाइ छ।
तर पछिल्लो समय रणनीतिलाई कार्यनीतिजस्तो र कार्यनीतिलाई रणनीतिजस्तो बनाइएकाले पार्टी राजनीतिक चक्करमा फसेको उनले बताए। प्रचण्डले पार्टीको अर्को ठूलो कमजोरी जनतासँगको सम्बन्ध कमजोर हुनु रहेको बताए। किताबमा विचार लेख्ने र भाषणमा सिद्धान्त प्रस्तुत गर्ने गरे पनि व्यवहारमा जनतासँगको सम्बन्ध कमजोर हुँदै जानु पार्टीको मुख्य त्रुटि भएको उनको भनाइ थियो।














