सप्तरी, ७ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकमा ३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। स्थानीय मोहम्मद इरफान र रुविना खातुनकी छोरी सानिया खातुन आइतबार बिहान घरपछाडिको झाडीमा मृत फेला परेकी हुन्।
परिवारका अनुसार सानिया आइतबार बिहान करिब ९ बजेसम्म घरमै थिइन्। त्यसपछि बालिका घरमा नदेखिएपछि परिवारले खोजी गर्दा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला परेको थियो।
सानिया आफ्ना आमाबाबुकी एक्ली सन्तान रहेको बताइएको छ। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार मोहम्मद इरफानले करिब एक वर्षअघि लहानकी २२ वर्षीया मुस्कान खातुनसँग दोस्रो विवाह गरेका थिए ।
मुस्कानलाई दोस्रो श्रीमतीका रूपमा घरमा भित्र्याएपछि परिवारमा विवाद हुँदै आएको बताइएको छ। मुस्कानको गतिविधि शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी हेमराज घिमिरेले जानकारी दिए।
बालिकाको मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।














