जनकपुर, ७ भदौ । सिराहामा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शनिबार राति गोलबजार नगरपालिका–३ स्थित विकास होटल अगाडि शंकास्पद रूपमा मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई रोकेर जाँच गर्ने क्रममा ११.६२ मिलिग्राम ब्राउन सुगर फेला परेको हो।
पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–८ का १९ वर्षीय दिपककुमार यादव, वडा नम्बर ७ का २० वर्षीय आशिक महतो र वडा नम्बर ६ का १८ वर्षीय राजेशकुमार दास रहेका छन्।
प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार मधेस प्रदेश ०१–००५ प २४९३ नम्बरको मोटरसाइकलमा कसहाबाट गोलबजारतर्फ आउँदै गरेका उनीहरूलाई चेकजाँचका क्रममा पक्राउ गरिएको हो। उनीहरूको साथबाट ब्राउन सुगरसँगै २ हजार ९२० रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई मोटरसाइकलसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको प्रहरीले जनाएको छ।














