काठमाडौं, ४ भदौ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार संविधानको धारा १६८(२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
थापाले बुधबार एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। नयाँ सत्ता समीकरणअनुसार बागमतीको नेतृत्व एमालेको भागमा परेको हो।
यसअघि एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका थिए। थापाले बिहीबार नै मुख्यमन्त्री पदको शपथ लिने कार्यक्रम रहेको छ।














