काठमाडौं, ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि अनुशासनको कारबाही गरेको छ। राप्रपाको सचिवालय बैठकले पार्टीको निर्णयविपरीत नेकपा एमाले नेतृत्वको बाग्मती प्रदेश सरकारलाई समर्थन गरेको भन्दै थापालाई प्रदेशसभा सदस्य पदबाट हटाउने निर्णय गरेको हो।
बैठकले थापाको पार्टी सदस्यता समेत खारेज गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ। बाग्मती प्रदेशमा सरकार गठनका क्रममा पार्टीले आफ्ना प्रदेशसभा सदस्यलाई कुनै पनि दललाई समर्थन नगर्न निर्देशन दिएको थियो। तर थापाले उक्त निर्देशनको अवज्ञा गर्दै एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको आरोप राप्रपाको छ।
पार्टीले यसअघि पनि थापाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आएको थियो। पार्टी निर्णयविपरीत सरकारलाई समर्थन गरेको विषयलाई अनुशासन उल्लंघनका रूपमा लिँदै सचिवालय बैठकले कारबाहीको निर्णय गरेको हो।
यता, राप्रपाका नेता कमल थापाले उद्धव थापामाथि कारबाही गर्ने निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। उनले उद्धव थापालाई कारबाही गर्न नहुने पक्षमा मत राखेको बताइएको छ।
कारबाहीको विषयलाई लिएर सचिवालय बैठकमा नेताहरूबीच चर्काचर्कीसमेत भएको बताइएको छ। पार्टीभित्रको विवादका बीच राप्रपाले उद्धव थापामाथि प्रदेशसभा सदस्य पदबाट हटाउने र पार्टी सदस्यता खारेज गर्ने निर्णय गरेको हो।














