काठमाडौं, ४ भदौ । बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको हत्याको विरोधमा काठमाडौंको माइतीघरसहित सिमरामा प्रदर्शन भएको छ।
माइतीघरमा प्रदर्शनकारीले गरिमालाई न्याय दिनुपर्ने, दोषीलाई कडा कारबाही गर्नुपर्ने र महिला तथा बालबालिकाको सुरक्षामा राज्य गम्भीर हुनुपर्ने माग गरेका छन्।
घटनाको विरोधमा जीतपुर–सिमरा उपमहानगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयले बिहीबार शोकसभा गरी विद्यालय बन्द गरेका छन्।
सिमरामा स्थानीयले प्रहरीको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै आन्दोलन जारी राखेका छन्। बिहीबार बिहानैदेखि ग्रामीण सडकमा टायर बालेर प्रदर्शन गरिएको छ भने बुधबारदेखि बन्द वीरगञ्ज–पथलैया सडकखण्डमा यातायात प्रभावित भएको छ।














