काठमाडौँ, ४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा नभई संवैधानिक आयोग भएकाले यसको स्वतन्त्रता र निष्पक्षता कायम राख्नुपर्ने बताए।
उनले अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेको विषयप्रति समेत आपत्ति जनाउँदै संवैधानिक निकायका पदाधिकारी यसरी प्रधानमन्त्री कार्यालय जानु उचित नभएको धारणा राखे।
गत असार पहिलो साता अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेको घटनालाई लिएर प्रश्न उठिरहेका बेला सांसद सिंहले अख्तियारको भूमिकामाथि यस्तो टिप्पणी गरेका हुन्।












